इडिसिडीले कोरोना संक्रमितको नाम रुजु गर्दै



काठमाडौं : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड-१९ को बीमा दाबी गर्नेको संख्या बढेपछि रुजु गर्न थालेको छ ।

महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी रुजु गर्न शुरु आत गरेको हो । बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको छ ।

अहिलेसम्म ५३० जना कोभिड-१९ संक्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।

अधिकारीले भने “संक्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ , दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौं ।” समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउने छन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।

वि.सं.२०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड-१९ को संक्रमित ५० हजार र १ लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्छन् । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए ।

उनका अनुसार अहिलेसम्म करिब २५ हजारले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा २ लाख २० हजार ३०८ जना संक्रमित भएका छन् । यस्तै १ लाख ९९ हजार २४ जना निको र १ हजार ३२१ जना संक्रमणबाट निधन भएका छन् ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्