रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई नदिएको कारणको खुलासा



काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई नदिनुको कारणको खुलासा भएको छ ।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै पुटिनले अमेरिकी निर्वाचनमा भएको कानूनी लडाईंको फैसला नआउन्जेल बाइडेनलाई औपचारिक रुपमा बधाई नदिने बताएका हुन् ।

तर बधाई दिन ढिला गर्दा रूस र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाई छ । अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेनसँग पराजित भएका छन् तर, चुनावमा धाँधली भएको भन्दै ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन् ।

कुनै प्रमाण नै पेश नगरीकन उनले अदालत गुहारेका छन् । हालका राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनको प्रशंसा गर्ने गरेका छन् । यसअघि राष्ट्रपति चुनिँदा उनले रूससँग मद्दत लिएको आरोप लागेको थियो ।

अमेरिकासँग लामो समयदेखि टक्कर लिइरहेको रूस र महाशक्ति बन्ने दौडमा रहेको चीनले अझैसम्म बाइडेनलाई बधाई दिएका छैनन् । एजेन्सी

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्