लहानमा चिनीको बिक्री बन्द



लहान : साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । 

 

प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र नूनको बिक्री वितरण गर्दै आएकामा उक्त शाखाले यस वर्ष सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै सहुलियत दरमा चिनीको बिक्री वितरण गर्ने कार्यसमेत बन्द गरिएको जनाएको छ । 

 

सरकारले भारतबाट चिनी ल्याउन प्रतिबन्ध लगाएको र स्वदेशी चिनीको मूल्यसमेत निर्धारण गर्न नसक्दा बजारमा चिनीको कालोबजारीसमेत शुरु भएको उपभोक्ता बताउँछन् । व्यापारीले चिनीको कृतिम आभाव देखाउँदै चर्को मूल्यमा चिनी बिक्री गर्न थालेको स्थानीयवासी सुमित साहले बताए ।

 

 बजारमा व्यापारीले मनपरि मूल्य बढाएर चिनी बिक्री गर्दै आएको उपभोक्ताको गुनासो छ । चिनीको मूल्य निर्धारण नभएसम्म बिक्री वितरण गर्न नसकिएको उक्त शाखाका प्रमुख जीतेन्द्र साहले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्