नेपाललाई मनाउने अन्तिम गृहकार्यमा ओली–प्रचण्ड



काठमाडाै‌ं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन् । नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा केन्द्रित रहेर बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन् । दुई दिनभित्र जिल्ला र जनसंगठनको नेतृत्व टुंगो लगाएर सचिवालय बैठकबाट पारित गर्ने गरी ओली र प्रचण्डले छलफललाई तीव्रता दिएका छन् । 

गत २९ चैतमा चन्द्रागिरी रिसोर्टमा आवासीय बैठकपछि ओली र प्रचण्डले २ वैशाखमा नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका थिए । नेपालसहितको छलफलमा पूर्वएमाले र माओवादी दुवै समूहलाई मान्य हुने गरी मापदण्डबाटै एकीकरण टुंग्याउने सहमति भएको थियो ।

विभिन्न कोणबाट प्रस्तुत भएका मापदण्डलाई बिहीबार बसेर अन्तिम टुंगो लगाउने समझदारीसहित छलफल टुंगिए पनि ओलीसँगको छलफलपछि प्रचण्ड आरामका लागि सपरिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

दुई अध्यक्षबीच डेढ घन्टा छलफल

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रचण्ड उपत्यकाबाहिर रहेकाले वरिष्ठ नेता नेपालसँग शुक्रबार र शनिबार थप छलफल गरेर मापदण्डबारे अन्तिम निष्कर्षमा पुग्ने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ । ‘दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको छ, उहाँहरू ९ गतेभित्रै एकतासँग जोडिएका सबै काम टुंगो लगाउन मापदण्ड टुंग्याउने गृहकार्यमा हुनुहुन्छ,’ अध्यक्ष ओलीनिकट बालुवाटार स्रोतले भन्यो, ‘शुक्रबार र शनिबार वरिष्ठ नेता नेपालसँग बसेर थप छलफल गर्ने तयारी छ ।’ 

अध्यक्ष प्रचण्डले नेपालको सहमतिविना एकता निष्कर्षमा नपुग्ने भएकाले उनीसहित बसेर प्रस्तावलाई अन्तिम रूप दिनुपर्ने धारणा राख्दै आएका छन् । उनकै प्रस्तावमा पछिल्ला दिनमा तीन शीर्ष नेताहरूबीच लगातार छलफल हुँदै आएको छ । ‘तीनजनाको सहमतिमा जे टुंगिन्छ, त्यसलाई सचिवालयबाट पास गरेर टुंग्याऔँ भन्ने उहाँको धारणा छ,’ प्रचण्डनिकट एक नेताले भने । याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे नयाँ पत्रिका दैनिक हेर्नुहाेस्।

प्रतिक्रिया दिनुहोस्