भारततर्फका सीमा नाका खोल्न सरकारलाई जसपाको आग्रह



काठमाडौं : जनता समाजवादी पार्टीले छिमेकी मुलुक भारतसँग जोडिएको सीमा नाका खोल्न सरकारलाई आग्रह गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएका भारततर्फका सीमा नाका खोल्न सरकारलाई जसपाले आग्रह गरेको हो ।

कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लक डाउन गरेसँगै सरकारले सीमित सीमा नाकालाई मात्रै खुला गर्दै आएको छ । भारत र चीनतर्फ गरी अहिलेसम्म १० वटा मात्र सीमा नाका सञ्चालनमा रहेका छन् ।

मंगलबार जसपाको दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सीमा बन्देज हटाउन आग्रह गरेका हुन् ।

‘लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुका साथै सीमा क्षेत्र खाशगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुन गएको छ,’ विज्ञप्तिमा लेखिएको छ–‘जनताको कृषि शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक सामाजिक आदि गम्भीर समस्याहरु देखापरिरहेका छन्। तसर्थ, जनताको जीवनलाई थप कष्टकर बन्न नदिन सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नु पर्दछ ।’

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्