हवाईइन्धन चोरीको आरोप लागेका तीन कर्मचारीको सरुवा, थप ४० कर्मचारी सरुवाको सूचीमा



काठमाडाैं : सिनामंगलस्थित आयल निगमको हवाईइन्धन डिपोबाट १९ चैत दिउँसो २ हजार लिटर तेल चोरीको आरोप खेपेका तीन कर्मचारी सरुवा भएका छन् । डिपो प्रमुख मनोज ठाकुर, उपप्रबन्धक विदुर कोइराला र ब्राउजर अपरेटर गोपाल नकर्मी प्रधान कार्यालय तानिएका हुन् ।

 ६ हजार लिटर इन्धन बोक्न २ सय लिटर क्षमताका ३० ड्रम कन्टेनरमा हालेर डिपोभित्र गएको थियो । तर, सोही कन्टेनर बाहिरिने क्रममा सुरक्षा गार्डले चेकजाँच गर्दा ४० ड्रममा ८ हजार तेल लैजाँदै गरेको फेला परेपछि नियन्त्रणमा लिएर छानबिन गरिएको थियो । छानबिनका क्रममा ट्रकले १० ड्रम भरिएको तेल नै बोकेर डिपोभित्र छिरेको र खाली ३० ड्रममा मात्र तेल भरेको निष्कर्ष दिइएको थियो । 

चोरी रोक्न थप ४० कर्मचारी सरुवाको सूचीमा

ड्रमबाट तेल चोरी भएको आशंकामा छानबिन गरेको अध्ययन टोलीले विनियमावलीअनुसार लामो समयसम्म कर्मचारीको सरुवा हुन नसकेको देखाएको छ । तल्ला तहका कर्मचारीले उच्च व्यवस्थापनलाई खुसी पारेर डिपोमा लामो समयसम्म काम गर्दा अनियमितता हुने गरेको छ । उच्च व्यवस्थापनको संरक्षणमा सिनामंगल डिपोमा लामो समयदेखि सरुवा राकेर ४३ कर्मचारीले काम गर्दै आएका छन् । 

ती सबैलाई निगमका नयाँ प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले सरुवा गर्ने निर्णय गरिसकेका छन् । त्यसमध्ये ३ को सरुवा भएको छ । बाँकी ४० कर्मचारीलाई सरुवा गर्न प्रबन्ध निर्देशक पौडेलले सूची तयार गरेका छन् । अधिकृत वा सोभन्दा माथिल्लो श्रेणीका कर्मचारी २ वर्षपछि सरुवा हुने मापदण्डअनुसार प्रकाशकुमार श्रीवास्तव र शिशिर सुवेदी सूचीमा छन् ।

५ वर्षमा सरुवा हुनुपर्ने, तर सरुवा नभई ३० वर्षदेखि शरणमान महर्जन र २८ वर्षदेखि पुण्यप्रसाद खनाल कार्यरत छन् । २५ वर्षदेखि गोपालप्रसाद गौतम र सीताराम काफ्ले, २० वर्षदेखि रवीन्द्रलाल सिंह, पूर्णबहादुर खड्का र रविनाथ थापा कार्यरत छन् । १८ वर्षदेखि सानु अधिकारी, १४ वर्षदेखि रामप्रसाद सापकोटा, १२ वर्षदेखि कैलाशबहादुर अधिकारी, ८ वर्षदेखि मणिराम पोख्रेल, ७ वर्षदेखि उप्रेन्द्र महतो, महेन्द्रबहादुर थापामगर र विदुर पौडेल कार्यरत छन् । ६ वर्षदेखि काम गर्ने १३ कर्मचारी र पाँच वर्षे अवधि सकिएका ८ कर्मचारी कार्यरत छन् । 

एउटै डिपोमा लामो समयसम्म काम गर्दा अनियमितता हुने गरेका विगतका उदाहरणलाई हटाउन पौडेलले विनियमावलीअनुसार कर्मचारीको सरुवा गर्ने सूची तयार गरेका हुन् । उक्त सूचीमा एउटै डिपोबाट सबैभन्दा बढी सरुवा हुने कर्मचारीको संख्या सिनामंगलबाटै छ । याे सम्बन्धी विस्तृत समाचारका लागि आजकाे नयाँ पत्रिका दैनिक हेर्नुहाेला ।

प्रतिक्रिया दिनुहोस्