मेस्सीप्रतिकाे आलाेचना अनुचित : एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिम्युनी



एजेन्सी : अर्जेन्टाइन फुटबलका फरवार्ड लियोनल मेस्सीको आलोचनाको विषयलाई लिएर यतिबेला पुराना फुटबलरहरुको एकपछि अर्को प्रतिक्रिया आउन थालेको छ। मेस्सी सम्मिलित अजेन्टिनी टोलीले अघिल्लो महिनामा खेलिएको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। 

यसैबीच स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिम्युनीले मेस्सीको आलोचना अनुचित भएको बताएका छन्। मेस्सीलाई क्लबबाट खेल्दा राम्रो तर देशबाट खेल्दा नराम्रो खेल्ने आरोप अर्जेन्टिनाकै समर्थकहरुले लगाउँदै आएका छन्। सिम्युनीले भने, ‘मेस्सीप्रतिको अर्जेन्टिनी आलोचना उचित छैन।’

‘रोनाल्डोलाई जसरी पोर्चुगलमा सद्भाव दिइन्छ। मेस्सीलाई अर्जेन्टिनामा त्यस्तो सद्भव देखाइँदैन।’ उनले भने,‘राम्रा खेलाडीले टोलीलाई बलियो बनाउने हो। चाहे क्लबमा होस् या देशमा।’

अन्तर्राष्ट्रिय ट्रफी दिलाउन नसक्दैमा कोही खेलाडी असक्षम नहुने उनको तर्क छ।

पाँच पटकका बालुन डि’ओर अवार्ड विजेता तथा ६ पटकका गोल्डेन बुट विजेता मेस्सीले २ पटक कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई पुर्याएका छन्। साथै विश्वकप फुटबलको फाइनलमा पुर्याएका छन्।

तर मेस्सी अन्तर्राष्ट्रिय उपाधिबाट भने बिमुख छन्। बार्सिलोना र सिम्युनीको एथ्लेटिको मड्रिडबीचको एक खेलका दौरान एथ्लेटिकोले बार्साविरुद्ध एक गोलको अग्रता लिएको थियो। तर सिम्युनीले एक गोलको अग्रताको खुशी मनाएनन्। उनले भनेका थिए,‘मैले गोल अग्रताको खुशी मनाइन। किनभने मैले मेस्सीलाई बार्साको तर्फबाट मैदानमा उत्रँन लागेको देखेको थिए।’ 

त्यस खेलमा मेस्सीले मैदान प्रवेश गरेर बार्सालाई खेल जिताएका थिए।

ला लिगामा सिम्युनीको एथ्लेटिको मड्रिड ६५ अंकसहित दोस्रो स्थानमा छ। मेस्सी आबद्ध बार्सिलोना लिगमा ७४ अंकसहित शीर्ष स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस्