३ मेनपावर कम्पनीमा छापा, दूतावासको संलग्नता रहेको आशंका



काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो ।

होप इन्टनेसनलमा मंगलबार, एसओएस र डिडी ह्युमन रिसोर्समा सोमबार छापा मारिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । होप इन्टरनेसनलमा एउटा कूटनीतिक नियोगको गाडी फेला परेको उनले बताए ।

सो मेनपावर कम्पनीको क्रियाकलापमा दूतावासको संलग्नता रहेको आशंका गरिएको छ । मेनपावर कम्पनीले डिमाण्ड नभइकन अनाधिकृत रूपमा खाडी मुलुक कतारका लागि कामदार छनोट गरेको आरोप विभागले लागएको छ ।

‘सेक्युरिटी गार्डको रूपमा काम लगाइदिने भन्दै कम्पनीको डिमाण्ड नै नभई कानुन र कानुनी व्यवस्था प्रतिकूल काम गरेको देखिएकाले छापा मारिएको हो,’ दाहालले भने । उनका अनुसार यी मेनपावरले करिब २ हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको शंका छ ।

यसबारे विस्तृत छानबिन भइरहेको छ । ती मेनपावरले कामदार छनोटमा प्रयोग गरेका कागजात विभागले नियन्त्रणमा लिएको छ । होप इन्टरनेसनलमा छापा मार्ने क्रममा ४५-सिडी-००९ नम्बरको कूटनीतिक नियोगको गाडी फेला परेको थियो ।

त्यो गाडी कुनै दूतावासको भएकाले यी कार्यमा दूतावास संलग्न छ कि भन्ने शंका विभागले गरेको छ । यसबारे अनुसन्धान भैरहेको विभागको भनाइ छ ।

प्रकाशित :९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्