रवीन्द्र मिश्रकाे कविता : होसियार !



लोकतन्त्रको नाममा

के बेचेनन् यिनले, सबै बेचे

लैनचौरको पर्खालभित्र

शरीर ढाक्ने वस्त्र बेचे

दिल्लीको दरबारभित्र

स्वाभिमानको अस्त्र बेचे

कोशी बेचे, गण्डकी बेचे

टनकपुर र पञ्चेश्वर बेचे

हुँदाहुँदा अब त

प्रधानमन्त्रीको वासै बेचे

होसियार !

यिनको छायाँ बन्नुअघि

गाउँ, शहरको भिडमा

पहिले आफूलाई चिन

होसियार !

जेलनेलको व्यथा कहेर

सर्वहाराको कथा बुनेर

खाडीका शेखलाई

युवाका सपना बेचे

युरोप, अमेरिकामा

सिङ्गो देशको विपना बेचे

मुम्बईका गल्लीमा

चेलीका चित्कार बेचे

कोलकाताका पसलमा

गरिबका पसिना बेचे

बेचे यिनले सबै बेचे

भोका पेटका गरिबलाई

भ्रमैभ्रमको खेती बेचे

हुनेखाने सबैलाई

पद–पैसाको लालसा बेचे

भरभराउँदो पहाड बेचे

फरफराउँदो फाँट बेचे

वन बेचे, जङ्गल बेचे

हाँस हाँस्ने पोखरी बेचे

चरा गाउने सिमसार बेचे

बुढेसकालको लौरो बेचे

मृत्युशैयाको मुस्कान बेचे

देशै नयाँ खोज्न बाध्य पार्दै

सन्ततिको पहिचान बेचे

होसियार !

यिनको छायाँ बन्नुअघि

गाउँ, शहरको भिडमा

पहिले आफूलाई चिन

होसियार !

-रवीन्द्र मिश्रकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्