‘चकलेट किन्न गएकी गुलबसा सदाका लागि विदा’



जनकपुरधाम : महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर-१४ शुभम वस्तीका शहीद आलमको ६ वर्षिया छोरी गुलबसा खातुनको गत आइतबार युकेजी कक्षामा नामांकन गरिएको थियो । उनी विद्यालयमा आफ्नो एडमिशन भएको कुराले यति खुशी थिइन कि त्यो खुशी साट्न उनी छेउमै रहेको आफ्नो फुपू सेलिना खातुनको घर पुगिन् ।

फुपू सेलिनाले भनिन्,‘गुलबसा आइतबार एकदमै खुशी थिइन्, उनी भोली सोमबारदेखि विद्यालय जान्छु, राम्ररी पढ्छु भन्दै मलाई सबै कुरा सुनाईन् ।’ गुलबसाको त्यो अनुहार अहिले पनि मेरो मन मस्तिष्कमा ताजै छ, तर के थाहा पापीहरुले मेरो भतिजीको सपना पूरा नहुँदै चकनाचुर गर्नेछ ।’
बुवा शहीद आलमको पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना थियो । मुुस्लिम समाजमा अहिले पनि छोरीहरुलाई पढाउने परम्परा नरहेको समयमा आलमले आफ्नो छोरीलाई पढाएर उदाहरण प्रस्तुत गर्न चाहन्थे । तर उनको त्यो सपना पूरा नहुँदै उनी सदाका लागि यो संसारबाट विदा भईन् ।

घटनाको पृष्ठभूमि

गत मंसिर ७ गते आइतवार गुलबसाको युकेजी कक्षामा एडमिशन भएको थियो । उनी एडमिशन भएकोमा एकदमै खुशी थिइन्, सोही कुरा जानकारी गराउनका लागि उनी छेउमै रहेको आफ्नो फुपूको घर पुगेकी थिइन् । फुपू सेलिनाले भनिन्,‘सधैं जसो छेउमै रहेको अरुणको पसलमा त्यो दिन पनि उनी चकलेट किन्नका लागि पुगिन् तर, फर्केर आइनन् ।’ चकलेट किन्न पसल पुगेकी गुलबसा फर्केर नआएपछि हामीले उनको खोजी सुरु गरेका थियौँ–फुपू सेलिनाले भनिन् ।

उनका अनुसार टोलभरीका मानिसले गुलबसालाई पहिले उनको घर र छिमेकमा खोज्यो । रातभर खोजेपनि नभेटेपछि बुवा शहीद आलमले सोमबार प्रहरीमा उजुरी दिए । उनका अनुसार आरोपी अरुणको घरमा खोजी गर्न जाँदा सुरुमा तलाशी गर्न दिएनन्, स्थानीयहरुको दवाब पछि तलाशी गर्न दिए तर, घरमा लगाइएको सीसी टिभीको फुटेज उनले हेर्न दिएनन् ।

सोमवारबाट प्रहरीले अनुसन्धान थालेपछि आरोपी अरुण साहलाई उनको गौशाला नगरपालिका–५ स्थित घरबाटै पक्राउ गरिएको थियो । पिडीत परिवारले दिएको जाहेरी र आरोपिलाई नियन्त्रणमा लिएपछि गौशाला प्रहरी चौकी र बर्दिबास प्रहरी कार्यालय दुवैले संयुक्त रुपमा घटनाको अनुसन्धान सोमवार नै थालेको थियो । आरोपित अरुणले आरोप स्वीकार गरेपछि बालिकाको शवलाई गाडिएको ठाउँमा जाँदा माटो मुनि बोरामा बाँधिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

बर्दिबास स्थित पसलमा ‘चकलेट’ किन्न गएकी बालिका गुलबसालाई अरुणले अपहरण गरेर हत्या गरी बोरामा बाँधेर शवलाई माटोमा गाडेर आफ्नो गाउँ गौशाला फर्केको प्रहरी निरिक्षक रेग्मीले बताए । बलात्कार भए नभएको भन्ने जिज्ञासामा वास्तविकता अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए । यद्यपि स्थानीयवासीहरुले बलात्कार गरी हत्या गरेको दावी गरेका छन् ।

प्रहरी निरिक्षक रेग्मीले बालिकाको हत्या गरेर फालेको कुरा आरोपितले आफ्नो घरपरिवारमा समेत बताएको जानकारी दिए । उसको पारिवारिक स्रोतबाट नै हत्याको कुरा प्रहरीमा जानकारी आएको तथा परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालय गौशालामा ल्याएर सोमवार राति १२ बजे बुझाएको उनले बताए ।

आरोपीको आपराधिक कनेक्सन

बर्दिवासकी बालिका गुलबसा हत्याका आरोपी अरुणकुमार साहको यो पहिलो घटना होइन । उनी यसअघि पनि हत्या आरोपमा धरौटीमा रिहा भइसकेको रहस्य बाहिरिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको बताए । उनी लकडाउनको बेला गत २०७७ वैशाख २८ गतेका दिन आफ्नै साथी दिलिप ठाकुरको हत्या गरेको आरोपमा पक्राउ परेका थिए ।

अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइयो तर उनी धरौटीमा रिहा भएका थिए । प्रहरी निरिक्षक रेग्मीका अनुसार दिलीप र अरुण दुवै जना रक्सी खाएको बेला आपसी विवादमा कुटाकुट भएको थियो । कुटाकुटको क्रममा एकअर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलिपको मृत्यु भएको थियो । घटना पश्चात आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइयो । तर जिल्ला अदालतबाट धरौटीमा रिहा भए । रिहा भएपनि उच्च अदालत जनकपुरमा पुनरावेदन दायर नै छ ।

बर्दिवास दिनभर तनावगग्रस्त

बालिकाको शव बरामद भएको खबर फैलिना साथ आक्रोशित स्थानीय शव सडकमै राखेर प्रदर्शनमा उत्रेका थिए । प्रदर्शन जारी रहेकै क्रममा स्थानीयले आरोपितले थापेको पसल तथा घरमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बन्न पुग्यो । आक्रोशित स्थानीयले शव राखेर बिहानैदेखि पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेको क्रममा प्रहरीको गोली लागेर ३ जना र लाठी चार्जबाट आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

शव पोष्टमार्टमका लागि जनकपुरमा

हत्या गरिएकी ६ वर्षीया बालिका गुलबसा खातुनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको हो ।

मंगलबार दिउँसो स्थानीयवासीले शव सडकमै राखेर बर्दिवास चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले शव खोसेको थियो । प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पारेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए ।

प्रकाशित :९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्