कंगना र रंगोलीलाई पक्राउ नगर्न अदालतको आदेश



काठमाडौं : बम्बे उच्च अदालतले आज (मंगलबार) बलिउड अभिनेत्री कंगना रनौत र उनकी दिदी रंगोली चन्देललाई देशद्रोहको मुद्दामा पक्राउ नगर्न आदेश दिएको छ ।

यद्यपि उच्च अदालतले कंगना र रंगोलीलाई ८ जनवरीमा मुम्बई प्रहरीमा बयान दर्ता गराउन उपस्थित हुन आदेश दिएको हो । उनीहरुका वकिल रिजवान सिद्दिकीले उच्च अदालत सामू ८ जनवरीमा १२ बजेदेखि २ बजेभित्र बयान दर्ता गराउन उपस्थित हुने आश्वासन व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देश र बलिउड क्षेत्रबारे गलत खबर फैलाएर यसको बेइज्जत गर्न खोजेको र समाजमा भ्रामक कुरा फैलाएको आरोपमा उनीहरु विरुद्ध एफआईआर दर्ता भएको थियो । उनीहरु विरुद्ध यो आरोप कास्टिंग निर्देशक मुनव्वर अलीले गरेका हुन् ।

मुम्बईको बान्द्रास्थित एक अदालतको आदेशपछि प्रहरीले उनीहरु विरुद्ध एफआईआर दर्ता गराएका हुन् । यसपछि कंगना र रंगोलीले बम्बे उच्च अदालतमा निवेदन पेश गरि मुम्बई प्रहरीले उनीहरु विरुद्ध दर्ता गरेको एफआईआर रद्द गर्न अनुरोध गरेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित :९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्