विराटनगरमा दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु



विराटनगर : कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ । सुनसरी स्थायी ठेगाना भएका दुई जना कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मंगलबार राति मृत्यु भएको हो ।

धरानकी एक महिला र रामधुनीका एक पुरुषको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको राति ११ः४० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषलाई बचाउन नसकिएको उनले बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए । अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भएरनभएको बारेमा केही पनि खुलाएको छैन । दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले बताए ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्