बर्दिवासमा फेरी आन्दोलन शुरु



महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले बुधबार फेरि आन्दोलन चर्किएको हो ।

बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागि न्यौपाने गम्भीर घाइते भएका थिए ।

तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएको खबर पाएलगत्तै पुनः बुधबार बिहानैदेखि स्थानीयावासी प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलबसा खातुनको बलात्कारपछि हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार भएको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि न्यौपाने घाइते भएका थिए ।

न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको भने काठमाडौंमै उपचार भइरहेको छ । अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

आइतबार साँझबाट बेपत्ता भएकी बालिका गुलाबसाको शव सोमबार बोरामा राखि झाडीमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

सो घटनामा प्रहरीले बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ ।

आरोपितलाई कडा कारबाहीको माग गर्दै मंगलबार बिहानदेखिनै प्रदर्शनमान उत्रिएका आक्रोशित स्थानीयवासीले साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी समेत गरेका थिए ।

यो पनि

बालिका बलात्कारपछि हत्या : प्रहरीको गोली लागि घाइते भएका सञ्जयको मृत्यु

‘चकलेट किन्न गएकी गुलबसा सदाका लागि विदा’

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्