जनकपुरधामबाट एक व्यक्ति बेपत्ता



जनकपुरधाम : जनकपुरधामबाट एक व्यक्ति बेपत्ता भएका छन्। जनकपुर उपमहानगरपालिका वडा नम्बर १ मा चिया पसल गर्दै आएका ध्रुवनारायण लाल कर्ण बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।  

बिहीबार बिहानै पसल खोल्न हिँडेका कर्ण पसल नपुगी बेपत्ता भएका थिए। बिहानै कर्णको पसलमा दुध दिन पुगेका दुधवालाले पसल बन्द देखेपछि कर्णको घरमा फोन गरेका थिए। त्यसपछि परिवारजनले कतै गएको आशंकामा बिहीबार रातिसम्म कुरे पनि कर्ण नआएपछि अपहरणमा परेको आशंका गरिएको छ।

कर्ण अहिलेसम्म घर नफर्किनु र पसल नजिकै च्यातिएको भेस्ट फेला पर्नुले अपहरणको आशंका गर्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ। तर, अहिलेसम्म कहि कतैबाट फिरौतीको लागि फोन वा जानकारी नआएकाले अपहरणमै परेको भनि भन्न नसकिने धनुषका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

यता धिरज कर्णले भिनाजुको अपहरण भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्