सुदूरपश्चिम प्रदेश सरकारको पहिलो चौमासिक पुँजीगत खर्च ६.२९ प्रतिशत



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च विवरण सार्वजनिक गरेको छ ।

आज (बुधबार) पत्रकार सम्मेलन गरी आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पहिलो चौमासिकमा यस वर्ष खर्च वृद्धि गरेको बताएका हुन् ।

मन्त्री बोहराले प्रदेश सरकारले पहिलो चौमासिकमा ६.२९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको बताए । चालु आर्थिक वर्ष ०७७-७८ को प्रथम चौमासिकको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा १.७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।

गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो। यस वर्ष चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६.६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५.४० प्रतिशत र पुँजीगततर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो । प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालुतर्फ १.२५ र पुँजीगततर्फ २.४१ प्रतिशतले खर्च बढी भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो । मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकरको बजेट खर्चसमेत सन्तोष जनक रहेको उनको भनाइ छ ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्