भारतीय काँग्रेसका वरिष्ठ नेता पटेलको कोरोना संक्रमणका कारण मृत्यु



नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ ।

उनका छोरा फैसल पटेलले ट्वीट गरेर बुधबार बिहान साढे ३ बजे पिताको निधन भएको जानकारी दिएका हुन् ।

एक महिना पहिले ७१ वर्षका अहमद कोरोना संक्रमित भएका थिए । उनको निधन दिल्लीस्थित सेट गुडगाउँको एक अस्पतालमा भएको हो ।

‘सबै शुभचिन्तकसँग अनुरोध गर्छु कि यो बेला कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबै नियमहरु पालना गर्नु होला र भौतिक दूरी कायम गर्ने होला, सामूहिक कार्यक्रम नगर्नु होला,’ फैसल पटेलले ट्वीटरमा लेखेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अहमद पटेलको निधनप्रति शोक व्यक्त गरेका छन् ।

त्यस्तै काँग्रेस अध्यक्ष सोनिया गान्धीले शोक सन्देश जारी गरेकी छन् । ‘अहमद पटेलका रुपमा मैले एक सहयोगी गुमाएँ जसले सम्पूर्ण जीवन कांग्रेसका लागि समर्पित गर्नुभएको थियो । मैले एक विश्वस्त सहयोगी र एक साथी गुमाएकी छु,’ गान्धीद्वारा जारी शोक सन्देशमा लेखिएको छ ।

‘यो एक दुःखद दिन हो । अहमद पटेल पार्टीका एक स्तम्भ हुनुहुन्थ्यो । उहाँ जहिले कांग्रेसका लागि बाँच्नु भयो र सबैभन्दा कठिन समयमा पार्टीका साथ रहनुभयो,’ काँग्रेस नेता राहुल गान्धीले अहमद पटेलको निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्–‘हामीलाई उहाँको कमी खड्किने छ । फैसल, मुमताज र परिवारका सदस्यलाई मेरो तर्फबाट प्रेम र समवेदना ।’

गान्धी परिवारका विश्वास पात्र मानिएका अहमद पटेल काँग्रेसका कोषाध्यक्ष थिए । उनी अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकार पनि थिए ।

सन् १९८५ मा राजीव गान्धीका संसदीय सचिव रहेका महमद पटेल सन् २०१८ मा पार्टीको कोषाध्यक्षमा नियुक्त भएका थिए । आठ पटक सांसद बनेका उनले तीन पटक लोकसभा र पाँच पटक राज्यसभामा रहेर काम गरे ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्