सुदुरपश्चिम प्रदेशमा स्क्रबटाईफसका बिरामी बढ्दै, महामारीको खतरा 



कैलाली : कैलाली लगाएत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्क्रब टाईफसका बिरामी बढ्न थालेका छन् । यसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु समेत भईसकेको छ । कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लाहरुमा पनि यो रोगको सङ्क्रमण बढ्दै गएको छ । स्क्रब टाइफसको प्रकोप बढिरहेकोले माहामारीको खतरा हुन सक्ने भन्दै बच्न सबैलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । 

 

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता लक्षण देखिएका विरामीहरुको जाँच गर्दा स्क्रब टाइफसका बिरामीहरुको संख्या बढिरहेको पाइएको हो ।

 

रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिने र पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने रोगको प्रमुख लक्षण देखिने सेती अञ्चल ईमरजन्सी वार्डका इन्चार्ज केशव बोहराले बताए । 

 

धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो बर्ष ५० जना स्क्रब टाईफसका विरामी देखिएकोमा डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको मृत्यु भईसकेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोप फैलिदै गएको सेति अञ्चल अस्पतालका सुचना अधिकृत दिलिपकुमार श्रेष्ठले बताए । 

 

स्क्रब टाईफस विरुद्ध सचेतना अभियान गएका वर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने गरेकोमा यो वर्षदेखि ती कार्यालयहरु खारेज भएका कारण सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् ।

 

समयमै अभियान सञ्चालन नगरेमा सुदुरपश्चिममा महामारीको रुपमा फैलिने खतरा बढेकाले सचेत रहनुपर्ने साविक जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रमुख टंक प्रसाद चापागाईले जानकारी दिए । 

 

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पछिल्लो १५ दिनमा ७६ जना विरामीमा जाँच गर्दा ३३ जनामा यो रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेसु डाक्टर जितेन्द्र कडेंलले जानकारी दिए । 

 

स्क्रब टाइफस रोगका बिरामीको संख्या बढेसँगै महामारीको खतरा बढेको छ । स्क्रब टाइफस रोगका बिरामीको संख्या बढे पनि नियन्त्रणका लागि उपायहरु अपनाउन ढिलाइ भइरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्