धोनी गाईपालन र तरकारी खेती गर्दै



काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट सन्यास लिएपछि गाईपालन र तरकारी खेती शुरु गरेका छन् ।

राँचीको धुर्वास्थित सेम्बोमा ५५ हेकड जमिनमा फार्म निर्माण गरी गाईपालनका साथै अर्गानिक तरकारी खेती गरेका हुन् । अहिले उनको फार्म हाउसमा मौसमी तरकारीहरू उत्पादन भइरहेको छ ।

फार्म हाउसमा प्रत्येक दिन ८० किलो टमाटर उत्यादन हुँदै आएको र बजारमा यसको माग व्यापक हुँदै गएको र हरेक दिन उत्पादन भएको तरकारी सबै बिक्री हुँदै आएको उनले बताएका छन् ।

उनको फार्म हाउसले टमाटरको पूर्ण अर्गानिक रूपमा उत्पादन गर्दै आएको छ । आगामी हप्तसम्ममा राँचीका मानिसहरुले धोनीको फार्म हाउसले उत्पादन गरेको बन्दकोभीको स्वाद लिन सक्ने बताइएको छ ।

अहिले धोनीको फार्मबाट टमाटर प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै फार्म हाउसमा दैनिक ३ सय लिटर दुध उत्पादन भइरहेको छ । उक्त दुध ५५ रुपैयाँ लिटरमा बिक्री हुँदै आएको छ । दुध फार्मबाट सिधैँ बजारमा जाने गरेको बताइएको छ ।

गाई फार्मको रेखदेख गरिरहेका डाक्टर विश्वरञ्जनले धोनीले भारतीय जातिको साहिवाल र फ्रान्सेली जातको फ्रिजियन गाई पालन गरेको बताएका छन् । उनले अहिले ७० वटा गाई पालेका छन् । यी सबै गाई पञ्जाबबाट ल्याइएको हो ।

धोनीको उक्त फार्म हाउसको रेखदेख शिवानन्दन र उनकी श्रीमती सुमन यादवले गर्दै आएका छन् । तरकारीको कारोबार पनि उनीहरुले नै गर्दै आएका छन् । शिवानन्दले अहिलेसम्म तरकारी र दुध बेचेर धोनीको खातामा लाखौं रूपैयाँ जम्मा गरिदिएको बताएका छन् ।

धोनी आफ्नो फार्म हाउसले उत्पादन गरेको तरकारी र दुध देखेर निकै खुसी छन् । शिवानन्दनका अनुसार धोनी राँचीमा रहेको समयमा प्रत्येक दुई वा तीन दिनमा फार्म हाउस पुग्ने गरेका छन् । तरकारी र दूध बेचेर आएको पैसा उनले धोनीको बैंक खातामा राखि दिने गरेका छन् । एजेन्सी

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्