फोरम अधिवेशन : प्रदेश अध्यक्ष बन्न मन्त्रीदेखि पदाधिकारीको दौडधूप



जनकपुरधाम : प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालको प्रदेश अध्यक्ष बन्न मन्त्रीदेखि प्रदेश समिति पदाधिकारीको दौडधूप सुरु भएको छ। यहि वैशाख १३ र १४ गते हुने अधिवेशनको तयारी तीव्र गतिमा भइरहेको बेला प्रदेशका मन्त्रीदेखि समितिका पदाधिकारीहरू आन्तरिक तयारीमा जुटेका छन्।

फोरम नेपालले संघीयता अनुसार परिमार्जन गरेको विधानमा जिल्ला समन्वय समितिलाई सीमित अधिकार दिएकाले प्रदेश र स्थानीय तहलाई शक्तिशाली बनाएपछि प्रदेश अध्यक्षमा सबैको आकर्षण बढेको हो। पार्टी श्रोतले जनाए अनुसार अध्यक्ष रेणु यादवलाई सर्वसम्मत रुपमा फेरि अक्ष्यक्ष बनाउने तयारीमा केन्द्रिय कार्यसमिति रहेको छ।

तर, प्रदेश प्रतिनिधि भएर छनौट भएर आएका मन्त्रीदेखि पदाधिकारीहरूले रेणु यादवको कार्यकाल सन्तोषजनक नभएका कारण पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाउन नयाँ अनुहारको आवश्यकता रहेको भन्दै आ–आफ्ना दावेदारी घोषणा गरिरहेका छन्।

प्रदेश अध्यक्षको लागि अध्यक्ष रेणुसहित समितिका सचिव शेषनारायण यादव, प्रदेश मन्त्रीद्वय ज्ञानेन्द्र यादव र विजय यादव दोवदार छन्। ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुनमन्त्री हुन भने विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री हुन्। यी उम्मेदवार बाहेक अन्य नेताहरू पनि अध्यक्ष बन्न लागिपरेका छन्।

आर्थिक मामिलामन्त्री सिरहाको औरही गाउँपालिका, आन्तरिक मामिलामन्त्री धनुषाको जनकपुरधाम उपमहानगरपालिका र सचिव शेषनारायण यादव धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाबाट प्रदेश प्रतिनिधि चुनिएका छन्। प्रदेश सचिव यादवले आफूले समिति चलाइसकेका कारण आफूसँग कार्य अनुभव रहेकोले संगठनलाई नयाँ परिवेश अनुसार अझ मजबूत बनाउन आफू सक्षम रहेको दाबी गरेका छन्।

यता मन्त्री ज्ञानेन्द्र यादवले नयाँ संरचना अनुसार संगठन निर्माण, परिचालन र फोरमको साख राख्न आफू सक्षम रहेको दाबी गर्दै उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै मन्त्री विजय यादवले पार्टीलाई एक ढिक्कामा संगठित गरेर लान आफू सक्षम रहेकाले उम्मेदवारी दिन लागेको बताए।

प्रदेश २ मा रहेका १ सय ३६ स्थानीय तहमध्ये ४० वटामा अधिवेशन सम्पन्न भइसकेको प्रदेश समितिले जनाएको छ। केहि स्थानीय तहहरूमा अधिवेशनको उद्घाटन भइसके पनि प्रतिनिधि र अध्यक्ष छनौटमा विवाद भएर रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्