बालिका हत्या प्रकरण : बर्दिवासमा निषेधाज्ञा तोड्दै प्रदर्शन, दोषीलाई फाँसी दिनुपर्ने माग



बर्दिवास : महोत्तरीको बर्दिवासमा तनाव बढेको छ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीकी बालिका गुलाब साह खातुनको हत्या घटनाले बर्दिवासमा थप तनाव सिर्जना भएको छ ।

दोषीलाई कारवाहीको माग गर्दै मंगलबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएपछि आन्दोलन थप चर्किएको हो । मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै स्थानीयवासीले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

बर्दिबासका सर्वपक्षीय बैठकले मृतकलाई सहिद घोषणा गर्न माग गरेको छ । बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको हो । यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । काँग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो ।

उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका न्यौपानेको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारजनले जनाएको छ ।

६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन्, भने उनको शव सोमबार राति बोराना राखेर फ्याकिएको अवस्थामा फेला परेको थियो ।

बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रदर्शनकारीले दोषीलाई फाँसी दिन माग गर्दै प्रदर्शनलाई चर्काएका छन् भने सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले निषेधा तोड्दै बर्दिबासमा आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् । प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका हुन् ।

घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यो पनि

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्