कांग्रेस नेता हार्दिक पटेललाई चुनावी सभामै थप्पड हानियो



गुजरात : कांग्रेस नेता हार्दिक पटेललाई गुजरातको एउटा चुनावी सभामा सम्बोधन गरिरहेकै बेला एक युवाले थप्पड हानेका छन् । शुक्रवार गुजरातको सुरेन्द्रनगरमा चुनावी जनसभामा बोलिरहेका बेला उनीमाथि मञ्चमै आक्रमण भएको हो । 

थप्पड हानेपछि हार्दिकका समर्थकले आरोपीलाई समातेर कुटेका छन् । पुलिसले ती युवालाई जोगाउँदै हिरासतमा लिएको छ । घटनापछि हार्दिकले भाजपाले आफूमाथि आक्रमण गराइरहेको बताएका छन् । 'उनीहरु मलाई मार्न चहान्छन् । तर हामी चुप बस्नेवाला छैनौँ', उनले भनेका छन्, 'यस घटनाबारेमा मैले प्रहरीमा उजुरी दिएको छु ।'

हार्दिकलाई थप्पड हान्ने युवकको नाम तरुण गज्जर हो । थप्पड हानेका तरुणले हार्दिकमाथि पाटीदार आन्दोलनका क्रममा १४ जनाको हत्याका लागि दोषी मानेका छन् । हार्दिक कांग्रेसमा प्रवेश गरेकोमा तरुण रिसाएका थिए । तरुण गुजरातको महेसाणा जिल्लास्थित जेसलपुरका हुन् । 

पाटीदार आरक्षण आन्दोलन समिति (पास) का पूर्व नेता हार्दिकको गुजरात गृहराज्य हो। उनलाई सुरेन्द्रनगर जिल्लाको वढवाण तालुकास्थित बलदाणा गाउँमा कांग्रेसको जन आक्रोश र्‍यालीलाई सम्बोधनका क्रममा कुटिएको हो । हार्दिकले यस घटनापछि आफ्नो सम्बोधनलाई जारी राखे । उनले यो घटनालाई भाजपाको षड्यन्त्र भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्