सहिद र बेपत्ता पारिएका परिवारलाई कर्णाली प्रदेशले रोजगारी दिने



सुर्खेत : कर्णाली प्रदेश सरकारले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई शिक्षा, निः शुल्क स्वास्थ्य सेवा र रोजगारीका कार्यक्रम ल्याउने भएको छ ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगले सुर्खेतमा गरेको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई लक्षित गरी शिक्षा, निः शुल्क स्वास्थ्य सेवा तथा रोजगारी दिने नीति ल्याउन लागेको बताएका हुन् ।

उनले भने,‘बेपत्ता परिवारका लागि राहात र परिपूरणका कामका लागि प्रदेश सरकारले आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गर्नेछ, सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई लक्षित गरी शिक्षा, निः शुल्क स्वास्थ्य सेवा र रोजगारीका कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी छ ।’

कर्णाली प्रदेश सरकारले करार भर्ना गर्ने कर्मचारी वा प्रदेश लोकसेवा आयोगले गर्ने विज्ञापनमा सहिद र बेपत्ता परिवारका सदस्यका लागि छुट्टै कोटाको व्यवस्था गरिने जानकारी दिए । ‘अहिलेसम्म पनि हामीले सहिद र बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि विशेष व्यवस्था गर्न सकेका छैनौँ,’ उनले भने, ‘प्रदेश सरकारले सहिद र बेपत्ता पारिएका व्यक्तिको परिवारका लागि विशेष राहत प्याकेज ल्याउने कर्णाली प्रदेश सरकारको तयारी रहेको छ ।’

कर्णालीबाट १८६ उजुरी
२०७१ सालमा स्थापना भएको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा कर्णालीबाट १८६ वटा उजुरी परेका थिए । ति उजुरीमध्ये १३६ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सकिएको र ती उजुरी विस्तृत अनुसन्धानको क्रममा रहेको आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीले जानकारी दिए ।

‘रुकुमपश्चिमका ३६, कालिकोटका ४५, जुम्लाका २०, मुगुका २५, डोल्पाका ६ र हुम्लाका चारवटा उजुरीको विस्तृत अनुसन्धान गरिनेछ,’ उनले भने, ‘त्यसका लागि चारवटा टोली परिचालन गरिएको छ ।’ बेपत्ता पारिएकाहरूको छानबिन आयोगमा ३ हजार २ सय २३ वटा उजुरी परेका छन् । तीमध्ये २ हजार ५ सय १० वटा उजुरी विस्तृत अनुसन्धानमा पुगि सकेको आयोगले जनाएको छ ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्