नेकपाकाे चियापान कार्यक्रममा कुटपिट, चियापान बहिस्कार



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान बहिस्कार गरौं भन्दै होहल्ला गर्ने एक व्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन्। ती व्यक्तिले कार्यक्रम स्थलमै 'कथित चियापान बहिस्कार गरौं' भन्ने पर्चासमेत छरेका थिए। 

 

पर्चा छरेको देखेपछि उपस्थित कार्यकर्ताले प्रहरीलाई अनुरोध गरी बाहिर निकाल्न भनेका थिए। तर प्रहरीले खासै प्राथमिकता नदिएपछि ती कार्यकर्ताले कुट्दै कार्यक्रम स्थलबाट बाहिर निकालेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिद्वारा जारी पर्चामा ५ बुँदे माग पनि राखिएको छ।

 

एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०/५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदल चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

 

वरिष्ठ नेताहरुको पदलोलुपता र व्यक्तिगत इच्छाका कारण कार्यकर्ताले मनभित्रबाट एकताको खुसीयाली मनाउन नसकेको पनि असन्तुष्टि पर्चामा व्यक्त गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ। पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्