
काठमाडौं : सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।
देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै यो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् ।
सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोले । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरिद गरेका हुन् ।
पहिलो पटक साधारण शेयर खरिद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे ।
सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।”
सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता साधारण शेयर खरिद गरी शेयर बजारमा प्रवेश गरेका हुन् ।
यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएकी छिन् ।
मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिए । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजार रुपैयाँको पाँच सय कित्ता साधराण शेयर आवेदन दिइन् ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गरेका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरे ।
सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।