आठौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा पुलिससँग आर्मी पराजित



बुटवल : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले पराजित भएको छ। बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा सीमित भएको आर्मी पुलिससँग १–० ले पराजित भएको हो।

आर्मीलाई पराजित गर्न पुलिसका लागि एकमात्र निर्णायक सुमन लामाले गरे। लामाले पेनाल्टीमार्फत गोल गरेका हुन्। ७३औं मिनेटमा आर्मी १० खेलाडीमा समेटिएको थियो। डि–बक्समा पुलिसका खेलाडीलाई फल गरेपछि डिफेन्डर बिकास खवासले सोझै रातो कार्ड पाउँदा आर्मी १० खेलाडीमा समेटिएको थियो।

त्यसैमा प्राप्त पेनाल्टीमा सुमन लामाले गोल गरे। त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस १–० ले विजयी भयो। आर्मीले पहिलो खेलमा प्रदेश–२ लाई ५–० र पुलिसले प्रदेश–७ लाई ३–० ले पराजित गरेका थिए।

लगातार दोस्रो जितसँगै पुलिसले ६ अंक जोडेको छ। आर्मीको ३ अंक छ। समूह ‘ख’ मा आर्मी र पुलिससँगै प्रदेश २, प्रदेश ६ र प्रदेश ७ को खेल बुटवलमा भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्