शुक्रबार र शनिबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै



काठमाडौं : सरकारले शुक्रबार र शनिबार २७ लाख बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउँदै छ । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले जनाएको छ । 

७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हो । त्यसै गरी शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकाको तौल लिने कार्यक्रम पनि सञ्चालन गरिएको छ । 

यस अघि स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आएको थियो । देश संघीयतामा गएपछि ७ सय ५३ स्थानीय तहले यो कार्यक्रमको जिम्मेवारी पाएका छन् । 

‘भिटामिन ए’ को कमीले बालबालिकामा हुन सक्ने विभिन्न रोगहरू जस्तै झाडापखाला, कुपोषण, दादुरा, जुकाको समस्या लगायतका रोग न्यूनिकरण गर्न कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । 

सरकारले सन् २००१ देखि हरेक ६/६ महिनामा देशैभर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

देशभर ३६ हजार बुथ तोकिएको छ भने ५१ हजार ४ सय ७० जना महिला स्वयंसेविका र ९ हजार २ सय ४६ जना स्वास्थ्यकर्मी गरी ६० हजार ७ सय १६ जना जनशक्ति परिचालन गरिएको छ । 

शुक्रबार र शनिबार छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गई ‘भिटामिन ए’ र जुकाको औषधि खान सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्