दार्जिलिङ घुम्न गएका जनप्रतिनिधिले माफी मागे



रुकुम : रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि र कर्मचारीहरू भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।

गत चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म गाउँपालिका अध्यक्ष नरबहादुर पुनसहित जनप्रतिनिधि र कर्मचारीले भारतको दार्जिलिङ तथा नेपालका विभिन्न ठाउँमा भ्रमण गरेका थिए। कार्यालयको काम छाडेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको भन्दै विभिन्न सामाजिक सञ्चालन तथा सञ्चार माध्यमबाट चर्काे विरोध भइरहेको छ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लले गाउँपालिकाको तर्फबाट प्रेश विज्ञप्तीमार्फत माफी मागेकी छन्। आफूहरू गाउँकार्यपालिकाको निर्णय अनुसार नै भ्रमणमा गएको विज्ञप्तीमा उल्लेख गरिएको छ। गत चैत २० गते कार्यपालिकाको बैठकबाट पर्यटकीय क्षेत्र, कृषि तथा सांस्कृतिको अवलोकन गर्नको भ्रमणको तय भएको बताइएको छ।

आफुहरु चैते दसै, शनिबार र नयाँ वर्षको विदालाई सदुपयोग गरेर नयाँ क्षेत्रको अवलोकण तथा क्षमता अभिवृद्धि गराउनको लागि भ्रमण गरेको विज्ञप्तीमार्फत जानकारी गराइएको छ।

भ्रमणमा गएका जनप्रतिनिधि र कर्मचारी ढिला आउँदा प्रत्येक महिनाको ३ गते वितरण हुँदै आएको अपाङ्गता परिचय पत्र वितरण कार्य प्रभावित भएको थियो भने कक्षा ८ को गाउँपालिका स्तरिय नतिजा समेत ढिला गरेर प्रकाशन भएको थियो। 

प्रतिक्रिया दिनुहोस्