भारतीय विदेश सचिव श्रृंगलाले ५ बजे प्रधानमन्त्री ओलीलाई भेट्ने



काठमाडौं : नेपालमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् ।

बिहीबार बिहान दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सो भेटवार्ता हुन लागेको हो ।

बालुवाटारको भेटपछि उनी शितल निवास जानेछन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यसैगरी उनी भोलि गोरखा र मनाङ जानेछन् । गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्नेछन् । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । उनी भोलि नै भारत फर्किनेछन् ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्