मेचीनगरमा ‘हरित परेवा’ फेला



काठमाडौं : चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् ।

वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अंग्रजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका वडा नं.७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो ।

नेपालमा पहिलो पटक यो प्रजातिको चरा भेटिएको हो । चरा विशेषज्ञ डा.हेमसागर बरालले यस्तो चरा नेपालमा पहिलो पटक भेटिएको पुष्टि गरेका हुन् ।

उनले भने,‘मैले यही मंसिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा ४ अनौठा परेवा जस्ता चरा देखेँ ।’ मेचीनगर वडा नं.६ का खरेलले भने,‘फोटो खिचेर पंक्षी संरक्षण संघ र डा.बराललाई पठाएँ, उनले यो पंक्षी हरित परेवा रहेको र पहिलो पटक भेटिएको पुष्टि गर्नुभयो ।’

चराहरुको खोजी र संरक्षणमा विगत ५ वर्षदेखि लागि रहेका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पंक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् । नेपालमा ८ सय ८६ प्रजातिका चरा भएको आधिकारिक तथ्यांक छ ।

हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८ सय ८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलको भनाइ छ । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा यो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ । हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ ।

मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल क्षेत्रमा ३ सय प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

प्रकाशित : ११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्