मौसम बिग्रेपछि विमानस्थल बन्द, ९ वटा जहाज आकाशमै होल्ड



काठमाडौँ : हुरीसहित असिना पानी परेपछि विभिन्न स्थानबाट काठमाडौँ आएका ९ वटा जहाज आकाशमै होल्ड भएका छन् । हुरीसँगै पानी परेपछि त्रिभुवनस्थलमा भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका जहाज होल्ड गरिएको हो । 

विमानस्थल बन्द हुँदा एक घण्टादेखि आन्तरिक उडानका जहाज पनि उड्न र अवतरण गर्न सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ९ वटा जहाज आकाशमा होल्ड भएका छन् । 

दिल्लीबाट आएको नेपाल वायु सेवा निगमको एयर बस ३३०, दक्षिण कोरियाको सियोलबाट आएको कोरियन एयरको बोइङ ७७७, क्वाललाम्पुरबाट आएको मलेसियन एयरको बोइङ ७३७, दोहाबाट आएको कतार एयरको बोइङ ३३०–२०२, भद्रपुर,  विराटनगर र जनकपुरबाट आएका बुद्ध एयर, भैरहवाबाट आएको श्री एयरलाइन्स र भद्रपुरबाटै आएको यति एयरको जहाज आधा घण्टादेखि आकाशमै होल्ड गरिएको छ । 

होल्ड भएका सबै जहाज काठमाडौँ नजिकै र सिमराको आकाशमा चक्कर लगाइरहेका छन् । सबै जहाजलाई चाँडै मौसम खुले काठमाडौँमा र नखुलेमा अन्यत्र डाइभर्ट गरिने त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्