आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना, १७ घाइते



दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार बस सडकबाट खोल्सामा खसेको हो ।

घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।

घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्