अलैंचीको मुल्य घटेपछि किसान निराश



भोजपुर : अलैंचीको मूल्य निरन्तर ओरालो लागेपछि भोजपुरका कृषक निराश भएका छन्। अलैंचीको मूल्यमा आएको भारी गिरावटका कारण जीवनस्तरमा ठूलो प्रभाव परेपछि कृषक चिन्तित भएका हुन्।

तीन वर्षअघि गाउँमै प्रतिमन १ लाख १० हजारले अलैंची बिक्री भएपछि दंग भएका भोजपुर नगरपालिका भैंसीपंखाका प्रेमकुमार राई अलैंचीको मूल्यमा आएको गिरावटका कारण निराश भएका छन्।

८ रोपनी धान फल्ने खेत मासेर अलैंची लगाएका प्रेम कुमारलाई भाउ घटेपछि चिन्तित बनाएको छ। राई यो वर्ष प्रतिमन २२ हजारमा अलैंची बेच्न बाध्य भएका छन्। प्रेमकुमार जस्तै भोजपुरका अधिकांश अलैंची किसानहरू पोहोरको तुलनामा यो वर्ष मूल्य घटेपछि निराश बनेका छन्।

अलैंचीमा निरन्तर मूल्य खस्किए पनि किसानहरू उचित मूल्य पाउनेमा आशावादी देखिएका छन्। श्रम र लगानी अनुसारको आम्दानी निकाल्न गाह्रो भएको किसानको गुनासो छ। अलैंचीको मूल्यमा भारी गिरावट आए पनि भोजपुरमा यो वर्ष गतसालको तुलनामा अलैची उत्पादन बढेको छ।

कुल ६ सय ५० हेक्टर क्षेत्रफलमा गरिने अलैंची खेतीबाट योवर्ष कुल २ सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकले देखाएको छ। गतसाल जिल्लामा कुल १ सय ९२ मेट्रिकटन अलैंची उत्पादन भएको थियो। 

प्रतिक्रिया दिनुहोस्