ललितपुर महनगरपालिकामा नगर प्रहरीको कमी



ललितपुर : ललितपुर महनगरपालिकामा आवश्यकता भन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्य सम्पादनमा असर पुगेको छ ।

नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न बाधा पुगेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत छन् । 

जनप्रतिनिधि आएपछि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो । उक्त निर्णय भएपनि कार्यान्वयन नहुँदा समस्या भएको उनले बताए । उनले भने, “नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने भए पनि हामीसँग जनशक्ति कमी छ ।”

महानगरपालिका भवनको सुरक्षासँगै महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीको हो । यसबाहेक नगर परिषद्को निर्णय कार्यान्वयन, बजार अनुगमन, फुटपाथ व्यवस्थापनलगायतको जिम्मेवारी नगर प्रहरीको भएको नगर प्रहरी प्रमुख महर्जनले बताए । 

दमकलमा समेत अरु जनशक्ति नहुँदा नगर प्रहरीले नै सञ्चालन गरिरहेको छ । उनले भने, “जनशक्ति कम हुँदा नगरी नहुने काममा नै लाग्नुपर्छ, थप काम गर्न सकिँदैन ।” यसअघि महानगरपालिकामा नगर प्रहरीको दरबन्दी २३ जना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्