कालीगण्डकीमा अग्लो मोटरेबल पुल बन्ने



पर्वत : कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो ।

पुल निर्माण गर्न यसअघिनै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्भेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए पनि अहिले अर्थमन्त्रालयले बजेट स्वीकृति दिएपछि सर्भेक्षण अघि बढेको हो ।

कालीगण्डकी नदीमाथि २०६ मिटरको उचाइ र ५१० मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

महाशाखाका शाखा अधिकृत शशी पौडेलद्वारा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी मोटरेबल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेन र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा आवश्यक प्रक्रियाका लागि कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आवको बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष मेघनाथ शर्माले जानकारी दिए ।

समितिले विसं २०७० देखि हालसम्म सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले समेत सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो ।

दुई सय छ मिटरको उचाइ र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुककै नमूना पुल हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए । चालु आवभित्र विस्तृत सर्भेक्षणको सबै काम सम्पन्न गरेर बोलपत्र आह्वान हुुने र अर्को आवको शुरुदेखिनै निर्माण शुरु हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्