नेपाल भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक



काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले गरेको एक कार्यक्रममा उनले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए।

कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै श्रृंगलाले भने, जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताउँदै उनले भने, ‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं ।’

श्रृंगलाले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पूरा गर्न सक्नुहुन्न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक(अर्कामा निर्भर छौं, एक(अर्कालाई चाहिन्छौं।’ भारतको बजार नेपाली कम्पनीहरूका लागि सधैँ खुला रहेको र नेपालको जलविद्युत दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने उनले तर्क गरे।

प्रवचनका क्रममा उनले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनेपछि राजनीति र कूटनीतिक रूपमा दुई देशबीच भ्रमण बढेको र त्यसले सम्बन्धलाई मजबुत बनाएको बताए। परम्परागत सम्बन्धदेखि २०७२ को भूकम्प र अहिलेको कोरोना भाइरसमा पनि भारतले नेपाललाई सक्दो सहयोग गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्