कारागारमै कैदीबन्दी महिलाले बच्चा जन्माइन्



दाङ : तुलसीपुर कारागारमा रहेकी एक बन्दी महिलाले काराकारभित्रै बच्चा जन्माएकी छिन् ।

कर्तव्य ज्यान मुद्दामा ५ महिनादेखि थुनुवा रहेकी प्युठानको माण्डवी गाउँपालिका वडा नं.२ कि निशा घर्ती अधिकारीले बुधवार छोरी जन्माएकी हुन् ।

२८ वर्षीया अधिकारी विगत ५ महिनादेखि तुलसीपुर कारागारमा अनुसन्धानका लागि थुनुवा रहेकी छिन् । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था कुशल रहेको कारागार तुलसीपुरले जनाएको छ ।
कारागारमा सुत्केरी भएकी अधिकारीलाई तुलसीपुरका टोपबहादुर महतराले आवश्यक सम्पूर्ण सामग्रीहरु सहयोग प्रदान गरेका छन् ।

बुधवार राप्ती अञ्चल अस्पतालमा सुत्केरी भएकी अधिकारीलाई महतारा दम्पतीले सिरक डसना, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्य तथा जिन्सी, हर्लिक्स, तेल, घ्यू, फलफूल लगायत सामग्री पनि उपलव्ध गराएको कारागारले जनाएको छ । महतारा दम्पतीले कारागारमा थुनुवा सुत्केरी महिलालाई खाद्य सामग्री पनि सहयोग गरेका हुन् ।

यस्तै समाजसेवी महतारा दम्पतीले कारागारमा जन्मिएकी शिशुको शैक्षिक खर्च आफैँले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर र आमा थुनुवा रहेकी जेनिशाको सम्पूर्ण पढाई खर्चको जिम्मा आफैँले लिएको टोपबहादुर महताराले जानकारी दिए । सुत्केरी समयमा गर्नुपर्ने रखेदेख र स्याहार पनि आफ्नै खर्चले गराउने गिता महताराले बताइन् ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्