ढुंगेअड्डा-नागढुंगासम्म ६८ वटा सिसिटिभी क्यामेरा जडान



काठमाडौं : काठमाडौंको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाले करिब १ करोड लागतमा अत्याधुनिक ६८ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

ति क्यामेरा आज नगरपालिकाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । “त्रिभुवन राजपथअन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रूपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको छ,” नेपाल प्रहरीद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले आज आयोजित एक कार्यक्रमकाबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलमार्फत् महानगरीय प्रहरी वृत्त थानकोटलाई ती क्यामेरा हस्तान्तरण गरेका हुन् ।

हरेक नागरिकको हर्कतलाई निगरानी गरी चोरी, लुटपाटलगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्नुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने बताए ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्