पाथीभरामा ढलेकी महिलाको मृत्यु



ताप्लेजुङ : पाथीभरा दर्शन गर्न पुगेकी एक महिलाको आज (शुक्रबार) निधन भएको छ ।

विराटनगर महानगरपालिका ६ की सावित्री खड्का चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयले स्टेचरमा बोकेर काफ्लेपार्टीसम्म पुर्याएका थिए ।

त्यहाँबाट गाडीमा जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले बताए । ३० वर्षीय सावित्रा श्रीमान् मनिश चापागाईं, ससुरा लगायतका परिवारका ५ जनासँगै दर्शनका लागि पाथीभरा पुगेकी थिइन् ।

दिउँसो १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निष्कँदा होमकुण्ड छेउमा लडेपछि त्यहाँ रहेकाले स्टेचरमा सदरमुकामतिर ल्याएका थिए । मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याए पनि बचाउन नसकिएको पौडेलले बताए । चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्