नेविसंघ स्थापना दिवस: पाँच गुटले गरे छुट्टाछुट्टै कार्यक्रम



काठमाडौं : कांग्रेस भ्रातृ संगठन नेविसंघको स्थापना दिवस मनाउन शुक्रबार पाँचवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । पार्टीभित्रका विभिन्न गुटमा विभाजित विद्यार्थी नेताहरूले छुट्टाछुट्टै कार्यक्रम राखेका हुन् ।

कांग्रेस संस्थापन पक्षले संघको काठमाडौं कार्यसमितिको आयोजनामा स्थापना दिवस मनाउने निर्णय गरेको थियो । ऊक्त कार्यत्रम सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी, संघका पूर्वअध्यक्षहरूसमेतको उपस्थितिमा मनाउने प्रचार गरिएको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवा एकैछिन बसेर बाहिरिए । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नै भएनन् ।

वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेता भने कार्यक्रममा उपस्थित भएलगत्तै बाहिरिए । आफ्नो पक्षका नेताहरूलाई मञ्चमा नबोलाइएको भन्दै पूर्वमहामन्त्री मनोजमणि आचार्य, दीपक भट्टराई, मनहरि श्रेष्ठ, प्रतिमा गौतम, मोती भण्डारीलगायत विद्यार्थी नेताको समूह कार्यक्रम बहिष्कार भन्दै निस्कियो । ‘मनोजमणि नेतृत्वको टोलीलाई मञ्चमा नबोलाइएकाले बहिष्कार गरेका हौं,’ भण्डारीले भने ।

संघका काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । केन्द्रीय कार्यसमिति नभएपछि पार्टीले काठमाडौं जिल्ला कार्यसमितिकै आयोजनामा स्थापना दिवसको औपचारिक कार्यक्रम गर्ने निर्णय लिएको थियो । तर, देउवानिकट विद्यार्थीले प्रज्ञा भवनमा छुट्टै कार्यक्रमसमेत गरे ।

प्राविधिक विद्यार्थी परिषद् (फोर्स) को आयोजनामा प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवानिकट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, राजीव ढुंगानासहितका विद्यार्थी नेताको उपस्थिति थियो । पार्टी नेताहरू भने गएनन् ।

पूर्वमहामन्त्री सिटौला पक्षीय विद्यार्थीले चाबहिलको स्मार्ट क्याफेमा अर्को कार्यक्रम आयोजना गरे । संघका पूर्वमहामन्त्री कुन्दन काफ्ले, पूर्वउपाध्यक्ष डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, पूर्वसहमहामन्क्री बलदेव तिमिल्सिनाको समूहले कार्यत्रम गरेको थियो । यो कार्यक्रममा पनि केन्द्रीय तहका नेता उपस्थित भएनन् ।

महामन्क्री कोइरालानिकट विद्यार्थी नेताले बिजुली बजारमा छुट्टै कार्यत्रम आयोजना गरेका थिए । जसमा स्वयं महामन्त्री कोइराला सहभागी भए । उनीनिकट पूर्वउपाध्यक्ष उर्मिला थपलिया, पूर्वमहामन्त्री नीलकण्ठ रिजाललगायतले कार्यत्रम आयोजना गरेका हुन् । यता वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेताले स्थापना दिवसकै अवसरमा वाल्मीकि क्याम्पसमा दीप प्रज्वलन गरेका थिए । जसमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्