युवासँग बाबुरामको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गरेका हुन् ।

‘युवासँग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्,’ भट्टराईको ट्वीटरमा उल्लेख छ ।

अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो विर्सन नहुने उनको भनाइ छ ।

उनले अगाडि लेखेका छन्–‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाँसो नबिर्सौं । दुबैसँग लडेर अघिजाने साहस गरौं ।’

शुक्रबार पनि उनले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्ने बताएका थिए ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्