इरानका वरिष्ठतम परमाणु वैज्ञानिक फख्रिजादेहको हत्या



एजेन्सी : राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको गरिएको छ । त्यहाँको रक्षा मन्त्रालयले यसबारे पुष्टि गरेको छ । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

इरानका विदेशमन्त्री जवाद जारिफले घटनाबारे निन्दा गरेको छन् । उनले ‘कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म’ भन्दै हत्याको निन्दा गरेका हुन् ।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको बीबीसीले जनाएको छ ।

‘यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्,’ सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए । इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ ।

बीबीसीका अनुसार इरानले प्रवर्द्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो ।गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धित युरेनियम महत्त्वपूर्ण मानिन्छ ।

सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो । तर, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो ।

लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले ज्यानुअरीमा पद सम्हालेपछि इरानसँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ र हत्यामा इजरेलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ । सन् २०१८ को एप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्