हेलो सिएम कार्यक्रममा गुनासो आउन छाड्यो 



धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ  ।  जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सिएम कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको थियो । पछिल्लो समय गुनासो आउन छाडे पनि यो अवधिमा आएका जम्मा १६९ वटा गुनासोमध्ये १५२ गुनासाको फछ्यौट गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सबैभन्दा बढी सडक पूर्वाधार र विद्युत्सम्बन्धी ६७ वटा गुनासो आएका थिए ।

आएको गुनासो सम्बोधन गर्ने क्रममा अनुगमनको व्यवस्था हुन नसक्दा यसवाट सम्बन्धित सेवाग्राहीको गुनासो सुनुवाइ भयो वा भएन भन्ने विषयमा भने जानकारी हुन नसकेको बताइएको छ । कार्यक्रम शुरु भएको जेठ महीनामा ८८ र असारमा ३१ वटा गुनासो आएकामा त्यसपछिका महिनामा भने गुनासो आउने क्रम घट्दै गएको थियो ।

माघदेखि हालसम्म तीन÷चारजनाले मात्र गुनासो गरेको बताइएको छ । “यो अवधिमा आएका सबै गुनासा सम्बोधन गर्न सकिने अवस्था पनि थिएन”, मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता मानसिंह विष्टले भने, “सम्बोधन गर्न सकिने खालका गुनासाको सम्बोधन गराउन प्रयास गर्ने गरिएको छ ।”

हेलो सिएम कार्यक्रम कायान्वयनका लागि स्थापना गरिएको कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्री) टेलिफोन नं १६६०—९१५२७२३ को व्यवस्था गरिएको छ । हेलो सिएम कक्षमा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्धारबारे, सार्वजनिक निकायबाट हुने सेवासुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सेवासुविधा पाउनमा बाधा अवरोध पुर्याइएको, सार्वजनिक निकायको गैरकानूनी कार्य वा त्यस्तो कार्यावाट कसैलाई हानि–नोक्सानी पुगेको लगायतका गुनासाका साथै सुझावसमेत राख्न सकिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्