ईश्वरसामु बामदेवले ओलीलाई दुवै पदबाट हट्ने प्रस्ताव गरेपछि…



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चुनौतिको पहाड खडा भएको छ । आज (शनिबार) नेकपा सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाउँदै छन् ।

जसमा ठोस सहमति भएन भने निर्णय प्रक्रियामा बहुमत–अल्पमतको बाटो खुला हुनेछ । सचिवालयमा ओली अल्पमतमा छन् । आफूमाथि बहुमतको डन्डा बर्सिने जोखिम देखेपछि ओलीले उपाध्यक्ष बामदेव गौतमले आफ्नो पक्षमा पार्ने कसरत गरेका थिए । त्यसका लागि शुक्रबार साँझ गौतमलाई भेट्न उपप्रधानमन्त्री तथा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेल भैँसेपाटी पुगेका थिए ।

स्रोतका अनुसार नेता पोखरेलले गौतमलाई प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए । पोखरेलले उपाध्यक्ष गौतमलाई यसअघि जस्तै विवाद अन्त्यका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

विगतमा पार्टीभित्र तनाव हुँदा गौतमले ओलीलाई सहज हुने गरी मध्यमार्गी बाटो लिने गर्दथे । तर, यसपालि प्रचण्डले अगाडि सारेको राजनीतिक प्रस्तावमा आफ्नो पनि समर्थन रहेको अभिव्यक्ति दिएपछि गौतमलाई पछाडि फर्कन कठिन भएको छ ।

यसअघि ओली आफैँले पनि गौतमलाई चुनावी सरकारको नेतृत्व लिन र उपाध्यक्ष संगठन विभागको प्रमुखको हैसियतमा अध्यक्षको जिम्मेवारी पूरा गर्न प्रस्ताव राखेका थिए । योबीचमा त्यसका लागि ओली तयार नहुने गौतमले छनक पाए ।

अनि शुक्रबारको भेटमा गौतमले पोखरेलको आग्रह अस्वीकार गरी आफूहरुले ओलीलाई दुवै पदबाट हटाउन चाहेको र त्यो मात्रै पार्टी एकताको अन्तिम विकल्प भएको स्रोत बताउँछ ।

‘हामीले ओलीलाई धेरै पटक मौका दिएको हो । ओलीबाट हामी अपमानित मात्रै भयौँ । अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ’ गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । यस्तै गौतमले नेता पोखरेललाई पनि पार्टी एकताका लागि आफ्नो समूहमा आउन आग्रहसमेत गरेका थिए ।

ओलीसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समर्थनमा गौतम उत्रिएपछि ओली हाल सचिवालयमा अल्मतमा परेका छन् ।

९ सदस्यीय सचिवालयमा हाल ओलीविरुद्ध पाँच नेता उभिएका छन् ।

सचिवालयको आज बैठक बस्दै छ । बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन तयार पारेको प्रस्ताव पेश गर्दैछन् ।

प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव समीक्षात्मक हिसाबले अहिलेसम्मका कमजोरी स्वीकार गरेर आत्मालोचना गर्ने गरी आएको खण्डमा सहमतिका लागि अधिकतम प्रयत्न गर्ने अन्यथा दुवै अध्यक्षको प्रस्तावलाई सीधै स्थायी कमिटी छलफलका लागि लैजान माग गर्ने उनीहरूबीच समझदारी बनेको स्रोतले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्