एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट : म्यानमारमाथि नेपालको सहज जित



काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो।

थाइल्याण्डको प्रेम इन्टरनेशनल स्कुलको मैदानमा भएको खेलमा म्यानमारले जितक लागि दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक २६ रन बनाए। १५ बलको सामना गरेका कुमालले ४ चौकासहित २६ रनमा अविजित रहे।

दिपक बोहोरा ६, सुवास ऐर ११ र विशाल विक्रम केसी ३ रनमा आउट भए। प्रशान्त महत १५ बलमा १ चौकासहित ९ रनमा नटआउट रहे। म्यानमारका कौङ हटेट क्यावले २ र जीन मेयो को कोले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमा १३.२ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो। म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाए। म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन्। म्यानमारलाई सस्तैमा रोक्न नेपालका कप्तान विशाल विक्रम केसीले ५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए।

त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले समान १ विकेट लिदाँ म्यानमारका ४ ब्याट्सम्यान रन आउटको शिकार बनेका थिए। जितसँगै समूह ‘ए’ मा नेपालले २ अंक जोडेको छ।  साविकको विजेता समेत रहेको नेपालले दोस्रो खेलमा बुधबार मलेसियासंग खेल्नेछ। अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो।  

अप्रिल २० देखि २८ सम्म चल्ने प्रतियोगिताको समुह ‘ए’ मा नेपालसहित म्यानमार, मलेसिया र थाइल्याण्ड छन्। त्यस्तै समुह ‘बी’ मा सिंगापुर, भुटान, हङकङ र चीन छन्।

प्रतिक्रिया दिनुहोस्