निजी विद्यालयका पाठ्य पुस्तकमा खुलेआम कालोबजारी, सम्बन्धित निकाय मौन



जनकपुरधाम : निजी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरणमा प्रकाशकहरूले खुलेआम कालोबजारी गर्दा पनि सम्बन्धित निकाय मौन देखिएको छ। प्रकाशकहरूले शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्य भन्दा दोब्बरमा पुस्तक विक्री गरिरहे पनि सम्बन्धित निकाय मौन देखिएको हो।

२०७३ मा कायम गरिएको मूल्यसूची अनुसार प्रतिपेज एक कलर १ रुपैयाँ १० पैसा, दुई कलरको १ रुपैयाँ २५ पैसा र बहुकलरको १ रुपैयाँ ४५ पैसाको दरले बिक्री वितरण गर्नुपर्ने हो। तर, प्रकाशकहरूले मनपर्दी पाठ्यपुस्तक बिक्री वितरण गरिरहेका छन्।

पाठ्यक्रम विकास केन्द्रले विद्यालय पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाई तथा वितरण निर्देशिका २०६७ अनुुसार नै मूल्य सूची कायम गरेर बिक्री वितरण गर्न पटक पटक आग्रह गर्दै आए पनि पुस्तक प्रकाशकले त्यसलाई बेवास्ता गर्दै आएका छन्।

बढी मूल्य सूचीमा पुस्तक बिक्री वितरण गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयले त्यस्ता कालोबजारीलाई कारबाही गर्ने अधिकार छ। खुलेआम कालोबजारी भइरहेको बारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले त्यस्ता प्रकासकलाई कारबाही गरिने बताए।

‘पुस्तकमा बढी मूल्य लिएको बारे हामीलाई थाहा छैन्। यसप्रति कसैले गुनासो पनि गरेका छैनन्’, प्रजिअ कणेलले भने,‘सबै काम प्रजिअले हेर्न सम्भव छैन्, हामीसँग जनशक्ति पनि कम छ। छिट्टै नयाँ योजना बनाएर गैर सरकारी संस्थाहरूको सहयोगमा अनुगमन कार्यलाई तीव्रता दिनेछौं।’अभिभावक संघले समेत यसबारे कुनै आवाज उठाएको छैन। 

प्रतिक्रिया दिनुहोस्