राप्रपाको राजमार्ग सत्याग्रह कार्यक्रम स्थगित



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक र राजमार्गका चोकहरू गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ। केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

राप्रपाले आइतबार राजमार्ग र चोकहरूमा सत्याग्रहको कार्यक्रम राखेको थियो। यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेको छ। समितिमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवल समशेर राणा, भाष्कर भद्रा, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन्।

समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको छ। राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा, राजासहितको लोकतन्त्र स्थापना लगायतका माग राख्दै यसअघि पहिलो चरणको आन्दोलनका कार्यक्रम गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्