डिप्रेसनका रोगी पुरुषका छोराछोरीलाई पनि डिप्रेसन हुनसक्छ



केही समयअघिको एउटा अध्ययनले बुबालाई डिप्रेसन भए छोराछोरीलाई पनि किशोर उमेरमा डिप्रेसनलगायत अन्य मानसिक समस्या उत्पन्न हुन सक्ने उच्च सम्भावना रहने देखाएको छ।

आयरल्यान्ड, वेल्स र इङल्यान्डका हजारौं परिवारमा अध्ययन गरिएको थियो। यसअघिका अध्ययन अनुसन्धानले आमालाई डिप्रेसन हुँदा मात्र छोराछोरीमा पनि डिप्रेसन हुने सम्भावना देखाएका थिए।

तर यो अध्ययन नै पहिलो हो, जसले बुबाको डिप्रेसनको प्रभाव छोराछोरीमा पर्ने निष्कर्ष निकालेको छ। अध्ययनमा आमालाई डिप्रेसन भए÷नभएको तथ्य समावेश गरिएको थिएन।

‘छोराछोरीको मानसिक स्वास्थ्यमा आमाको मानसिकताको बढी प्रभाव पर्छ र बुबाको प्रभाव न्यून हुन्छ भन्ने धारणा गलत साबित भएको छ’, अध्ययनकर्ता टोलीको अगुवा जेम्मा लेविसले भनिन्। उनी युनिभर्सिटी कलेज लन्डनको साइकियाट्री विभागकी अनुसन्धाता हुन्।

‘हामीले आमाबुबा र किशोरकिशोरीमा हुने डिप्रेसन लिंगसँग सम्बन्धित नहुने तथ्य अध्ययनबाट पत्ता लगायौं,’ कलेजले जारी गरेको विज्ञप्तिमा उनले भनेकी छन्, ‘डिप्रेसनबाट जोगाउन अहिलेसम्म खास गरी आमामाथि केन्द्रित हुन्थ्यो  तर हाम्रो अध्ययनले आमाबुबा दुवैमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ।’

किशोरावस्थामा प्रवेश गरेपछि बालबालिकामा डिप्रेसन ह्वात्तै बढ्ने गर्छ। त्यसैले यो उमेरमा हुने डिप्रेसनका ‘रिस्क फ्याक्टर’बारे जति धेरै जानकारी पाइन्छ, त्यति नै जीवनको पछिल्लो चरणमा डिप्रेसनबाट जोगिन सकिने अध्ययनकर्ताहरू बताउँछन्।

‘सामान्यतया पुरुषहरू डिप्रेसनको उपचार गर्दैनन्’, लेविस भन्छिन्, ‘यदि तपाईं बुबा हो र डिप्रेसनको उपचार गराउनु भएको छैन भने त्यसको प्रभाव तपाईंका सन्तानमा पर्न सक्छ। यो अध्ययनको निष्कर्षले डिप्रेसन भएका पुरुषले उपचार गराउने छन् भन्ने हाम्रो अपेक्षा छ।’

किशोरकिशोरीलाई डिप्रेसनबाट जोगाउन आमाबुबाले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने लेविसको धारणा छ। उनले अहिलेसम्म छोराछोरीको मानसिक स्वास्थ्य आमाको मानसिक स्वास्थ्यमा मात्र निर्भर हुने र आमालाई मात्र ध्यान दिने गरिएको बताइन्। तर अध्ययनले भने बुबाको मानसिक स्वास्थ्य पनि छोराछोरीको मानसिक स्वास्थ्यमा उत्तिकै महत्वपूर्ण रहेको पाइएको बताइन्।

यो अध्ययन ‘द लान्सेट साइकियाट्री’मा केही समयअघि प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस्