मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु, एकको उपचार हुँदै



दाङ : दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.९ का २३ वर्षीय किरण पुनको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई शनिबार दिउँसो मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याएको केहीबेरमै उपचारका क्रममा उनको दिउँसो सवा ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सल्यान शारदा नगरपालिका वडा नं.९ का २१ वर्षीय लक्ष्मण बोहोरा घाइते छन् । उनको तुलसीपुरमा उपचार भइरहेको छ । आज (शनिबार) बिहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमलगैरीमा तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २११० नम्बरको बसले पश्चिमतर्फ जाँदै गरेको लु ४१ प २०१३ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सडक साँघुरो तथा घुमाउरो हुनु, तीव्र गति हुनु र सडकमा लाइनिङ पनि नहुने जस्ता कारणले दुर्घटना भएको हुन सक्ने डिएसपी सिंहले बताए । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्