बुटवलमा प्रधानमन्त्रीलाई कालोझण्डा



बुटवल : बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो।

जितगढी महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दीर्घाबाट अघि बढ्दै ओलीलाई कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११  मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए।

घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ। जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्ने नारा लगाउँदै मञ्चको अघि बढेर ओलीलाई कालो झण्डा देखाएका थिए। कालो झण्डा लिएर घिमिरे अगाडि बढेपछि प्रधानमन्त्रीले केहीबेर रोकिए। तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए। 

समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्