आज चिनियाँ रक्षामन्त्री नेपाल आउँदै



काठमाडौं : चिनियाँ रक्षामन्त्री वेई फेङ्गे आज (आइतबार) नेपाल आउँदैन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार बिहान १० बजे काठमाडौं आइपुग्नेछन् ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् । उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानसेनापति थापाले स्वागत गर्ने र सानो समूहमा भेटवार्ता गर्ने कार्यक्रम छ । ‘त्यो भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ,’ प्रवक्ता पौडेलले भने ।

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्नेछन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । दुवैतर्फ परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरू औपचारिक वार्तामा सहभागी हुनेछन् । प्रधानसेनापति नेतृत्वको प्रतिनिधिमण्डलमा सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित वरिष्ठ अधिकारीहरू सहभागी हुने तय भएको छ  ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्